
नेपालगंज, बाँके।
बाँकेको नेपालगंज १८ मा रहेको सगरमाथा ई. बोर्डिङ स्कूल ले आफ्नो २० औं वार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। शनिबार विद्यालयले “विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता” भन्ने मूल नाराका साथ वार्षिकोत्सव मनाएको हो।
विद्यालयका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चुडामणि प्रसाईं हुनुहुन्थ्यो। प्रसाईं, जिसी र विद्यालयकी संस्थापिका लक्ष्मी बिसीले संयुक्त रुपमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो।
प्रमुख अतिथि प्रसाईंले बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी भविष्यमा श्रम बेचेर खान सक्ने बनाउनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाको पहिलो पाठशाला घर भएकाले आमाबाबुले उचित संस्कार सिकाउनुपर्ने कुरामा जोड दिनुभयो।
विद्यालयका संस्थापक अध्यक्ष जिसीले विद्यार्थीको रुचि, चाहना र क्षमता अनुसारको शिक्षा विद्यालयले प्रदान गर्दै आएको जानकारी दिनुभयो। उहाँले किताबी ज्ञानका साथै बालबालिकाको क्षमता पहिचान र विकासका लागि संगीत, नृत्य, खेल, नाटक जस्ता कक्षाहरूको व्यवस्था गरेको बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले विद्यालयको उत्कृष्ट नतिजा, अनुशासन र खेलकुद गतिविधिबारे चर्चा गर्दै बाँकेकै उत्कृष्ट विद्यालयमध्ये एक रहेको बताए। प्रमुख अतिथि प्रसाईंले विद्यार्थीले हासिल गरेको शिक्षालाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो। उहाँले सगरमाथा ई. बो. स्कूलले हरेक वर्ष एसईई र प्लस टु मा शतप्रतिशत नतिजा ल्याउँदै आएको र स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाका साथै बाँके-बर्दियाकै उत्कृष्ट विद्यालयमा पर्ने गरेको बताउनुभयो।
विद्यार्थीहरूले नृत्य, गीत, गजल, कविता, नाटक, मार्चपास लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरे। लामो समय विद्यालयमा योगदान पु¥याएका शिक्षक पिन्टु कादु र विद्यालयकी सहयोगी सिता जिएमलाई सम्मान गरिएको थियो।
कार्यक्रममा अभिभावक राजेन्द्र कडेल, बाल अधिकारकर्मी साहिल अन्सारी, पत्रकार शिव डोटेल, कमल डाँगी, देवेन्द्र पौडेल, मधु पौडेल, रामु ओली, टार्जन ओली, गणेश विसुलाई मायाको चिनो प्रदान गरिएको थियो। एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रछात्रालाई पनि विद्यालयले सम्मान गरेको थियो।
बाँके, फागुन ९ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा राप्तीसोनारी गाउँपालिका बाँके जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये राप्तीसोनारीले सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेको हो ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलका अनुसार नेपाल सरकारले प्रदान गर्ने चार विधाको मूल्याङ्कनमध्ये लिजा, फ्रा, लिड र वित्त आयोगबाट हुने मूल्याङ्कनमा राप्तीसोनारीले जिल्लामा पहिलो स्थान हासिल गरेको हो ।
“वित्त आयोगले गर्ने १७ सूचाङ्कमा गाउँपालिकाले ६० अङ्क पाएको छ,” पौडेलले भने, “यो नियमित प्रक्रिया रहेको हुँदा आगामी वर्षमा देशकै उत्कृष्ट बन्ने हाम्रो लक्ष्य छ । हामी कुन सूचाङ्कमा कमजोर भयौं, त्यसलाई औँल्याउँदै सुधार गरेर जान्छौं ।”
गाउँपालिका अध्यक्ष तप्त पौडेलले जिल्लामा पहिलो स्थान हासिल गर्नु गौरवको कुरा भएको बताए । “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा राप्तीसोनारी जिल्लामै प्रथम हुनु गर्वको कुरा हो,” उनले भने, “आगामी दिनमा अझै धेरै सुधार गरेर देशकै उत्कृष्ट हुने हाम्रो लक्ष्य रहेको छ ।”
यस मूल्याङ्कनमा कोहलपुर नगरपालिकाले भने सबैभन्दा कम अङ्क प्राप्त गरेको छ । आयोगले प्राप्त अङ्क चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने जनाएको छ ।





