
मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८० को फाइनल खेलअघि आयोजकले खेलाडीहरूलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराएको छ। फागुन २४ गते हुने फाइनल खेलमा राइजिङ स्टार फुटबल क्लब, नवलपरासी र आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब, बाँके प्रतिस्पर्धा गर्दैछन्।
फाइनलअघि खेलाडीहरूलाई एक दिनको विश्राम दिँदै आयोजकले निकुञ्जमा सफारी गराएको हो। कोहलपुर रेसिङ साहारा फुटबल क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीका अनुसार, एक विदेशी खेलाडीसहित १८ जनाले सफारी गरेका थिए। खेलाडीहरूलाई विश्रामका साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निकुञ्ज भ्रमण गराइएको उनले बताए।
खड्गवार हातिसारबाट सुरु भएको सफारीमा खेलाडीहरूले चितल, निलगाई, बदेल र चौका देखेका थिए। राइजिङ स्टार फुटबल क्लब, नवलपरासीका खेलाडीहरूले प्राकृतिक वातावरणमा समय बिताउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए। कोहलपुर रेसिङ साहारा फुटबल क्लबका संयोजक कर्ण थापाले निकुञ्ज प्रवर्द्धन गर्ने लक्ष्यसहित यो सफारी आयोजना गरिएको बताए। “खेलाडीहरूलाई प्राकृतिक सौन्दर्यको अनुभव गराउनुका साथै बाँके राष्ट्रिय निकुञ्जको प्रचार गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो,” उनले भने।
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल खेल फागुन २४ गते हुनेछ। प्रतियोगिताको उपाधि भिडन्तमा यी दुई उत्कृष्ट टिम आमनेसामने हुनेछन्।
सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा शुक्रबार ट्राफिक सचेतना र्याली र काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास सम्पन्न भएको छ। सुरक्षित यात्रा नेपालको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझी चोकमा आयोजित कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, महिला संघका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
बिपी चोकदेखि धम्बोझी चोकसम्म सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सचेतना र्याली आयोजना गरिएको थियो। र्यालीपछि धम्बोझी चोकमा काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरुले सडक सुरक्षाका लागि ट्राफिक नियमको पालना गर्नुपर्ने र चालक तथा पैदलयात्री सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए। सडक दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी हुने उनीहरुको भनाइ थियो।





