२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।
बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमाण्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गर्नुभयो । उहाँले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरुले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउनुभयो ।
‘महिलाहरु चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन संभव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि उर्जाको स्रोत बनेको छ भने सामन्तहरुका लागि आफ्नो हैकम खोसिएकोमा चुनौतीको विषय बनेको छ ।’
उहाँले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेशी, मुस्लिम लगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताउनुभयो । ‘कतै न कतै कमजोरी भयो भन्ने महसुस गरेर नै पछिल्लोपटक सरकारको नेतृत्व गर्दा रुपान्तरणको अभियान सुरु गरियो । यसले दलाल बिचौलियाहरु आतंकित र चिन्तित हुन थाले’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘माओवादी सरकारमा रहिरह्यो भने हाम्रो सेटिङको जालो भत्कने भयो भनेर नै सरकार ढालिएको नेपाली जनताले प्रष्टरुपमा बुझिसकेका छन् ।’ माओवादी नेतृत्वको सरकार कांग्रेस–एमालेले ढालेको नभई दलाल र विचौलियाहरुले ती दलका केही नेतालाई कब्जा गरेर सरकार ढालिएको उहाँले स्पष्ट गर्नुभयो ।
सरकारले अहिले जताततै बेथिति बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिनेदेखि राष्ट्र बैंकमा आफ्नो अनुकूल गभर्नर ल्याउन अस्वभाविक रुपमा कार्यविधि परिवर्तन गर्नेसम्मका काम भइरहेको बताउनुभयो । सरकारको जग नै गलत भएकाले यसले अझ बढी गलत गर्दै जाने खतरा देखेर नै पार्टीले सरकारविरुद्ध खबरदारी अभियान थालेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेण्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारी दिनुभयो ।
रोकिएको अभियान पुनः सुरु
अध्यक्ष प्रचण्डले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु गरिएको जानकारी दिनुभयो । अभियान नवलपरासीबाट सुरु गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा केन्द्रीय आधारइलाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा पनि महिला क्रान्तिकारीहरुले त्याग बलिदानका कयौं कृतिमान कायम गरेको बताउनुभयो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।