२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

राप्तीसोनारी गाउँपालिका–३ बैँसामा थारु सांस्कृतिक ग्राम अन्तर्गत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माणको शिलान्यास गरिएको छ। नेपाल सरकारको विशेष अनुदानमा सो पार्कको शिलान्यास गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आइतबार एक कार्यक्रमका बीच गरेका हुन्।

पार्कको निर्माण कार्य पर्यटन डिभिजन कार्यालय कोहलपुरको ठेक्कामा ओसियन कन्ट्रक्सन कोहलपुरले गरिरहेको छ। एक करोड २५ लाख रुपैयाँ कुल लागतमा निर्माण गरिने पार्कको निर्माण आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित ९० लाख १८ हजार ९ सय ४२ रुपैयाँ २३ पैसामा कार्य आरम्भ गरिएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले राप्तीसोनारीलाई धार्मिक, कृषि र पूर्वाधार पर्यटनको केन्द्रबिन्दु बनाउन लागिपरेको बताए। “हामीले आर्थिक समृद्धिका लागि पर्यटनमा लगानी बढाउनु जरुरी छ,” उनले भने, “तर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि संरचनाको अभाव, फोहोर व्यवस्थापनको कमजोरी र सौन्दर्यीकरणको कमीले पर्यटकलाई आकर्षित गर्न सकिएको छैन।”

उनले वातावरणीय सौन्दर्यता ख्याल गर्दै पार्क निर्माण लगायतका कार्य अघि बढाइने जानकारी दिए। उनका अनुसार राप्तीसोनारीमा भूवर भवानी, बर्फानी लगायत थुप्रै पर्यटकीय स्थल रहेपनि यहाँका बासिन्दा मनोरञ्जनका लागि अन्यत्र जान बाध्य छन्। “हाम्रो पैसा बाहिर गइरहेको छ, अब त्यही पैसा यही राख्ने र अन्य पर्यटकलाई पनि भित्र्याउने योजना बनाएका छौं,” पौडेलले भने।

वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरीले पार्क निर्माणले पर्यटनमैत्री वातावरण सिर्जना गर्ने र त्यसबाट रोजगारीका अवसर बढ्ने बताए। पार्कभित्र कोसेली घर, दुईवटा झुला, ‘लव साइन’, हरियाली ग्रीन बेल्ट, व्यायाम पार्क, आकर्षक प्रवेशद्वार र वृक्षारोपण गरिनेछ।

साथै भूवर भवानी मन्दिरमा मञ्च र चेन्जिङ रुम पनि निर्माण गरिनेछ भने निर्माणाधीन मन्दिरहरू पनि सम्पन्न गरिने जनाइएको छ।
विशेषगरी ज्येष्ठ नागरिकका लागि विश्राम स्थल, युवाहरूका लागि व्यायाम स्थल र सामुदायिक भेटघाटको थलो बन्ने यस पार्कले आन्तरिक पर्यटनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। पार्कको हरियाली, शुद्ध वातावरण र खुला स्थानले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै सामाजिक सामीप्य अभिवृद्धिमा समेत सहयोग पुग्नेछ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।