राप्ती सोनारी, फागुन १९ गते। राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न प्रथम राप्ती सोनारी कृषि व्यापार एवं प्रवर्धन महोत्सव २०८१ को पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
फागुन २ गतेदेखि ११ गतेसम्म राप्ती सोनारी ५ मा रहेको चिलरिया रङ्गशालामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रममा विभिन्न विधाका विजेता तथा सहभागीहरूलाई पुरस्कृत गरिएको थियो। महोत्सव अवधिभर सञ्चालित एकल तथा समूह नृत्य प्रतियोगिताका विजेता र उपविजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
महोत्सवमा सहभागी झाँकी र्यालीका सबै समूहलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको राप्ती सोनारी उद्योग वाणिज्य सङ्घका महासचिव मोहन गौतमले जानकारी दिनुभयो। पहिलो पटक महोत्सव आयोजना गर्दा केही कठिनाइ भए पनि समग्रमा महोत्सव सफल भएको उहाँले बताउनुभयो।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल चौधरीले सबैको सहयोग भए आगामी वर्ष पनि महोत्सव आयोजना गर्न सकिने बताउनुभयो। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले महोत्सवमा सहभागी राष्ट्रिय कलाकारले राप्ती सोनारीलाई देशव्यापी रूपमा चिनाएको बताउनुभयो।
राप्ती सोनारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टिकाराम ढुङ्गानाले पहिलो महोत्सव भएकाले सबैलाई समेट्न नसकेको र आगामी वर्ष थप व्यवस्थित रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राप्ती सोनारीको पहिचान उच्च राख्न सधैँ लागिरहने उहाँले बताउनुभयो।










