टार्जन वली
पछिल्लो समयमा नेपालमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले गाउँ गाउँमै पुगेर सचेत गराउन थालेको छ ।
खुला सिमानाका कारण नेपालगन्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँके
ले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँके का प्रहरी प्रशिक्षक प्रहरी सहायक निरीक्षक खिमबहादुर डाँगी ले विद्यार्थी र युवालाई लागु औषधको दुर्व्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो जनचेतनामूलक अभियान चलाइएको बताउनुभयो ।
उहाँले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताउनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर चारका युवा तथा बालबालिकालाई सेचतनामूलक प्रशिक्षण गरिएको छ ।
सो कार्यक्रममा इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँके का प्रहरी सहायक निरीक्षक खिम बहादुर डाँगी ले अध्ययनरत छात्रछात्रा र अभिभावक हरुलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक पर्चा, पम्लेट पनि वितरण गर्नुभयो ।
उहाँले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको इलाका प्रहरी कार्यालय धनौली खजुरा बाँके का प्रहरी सहायक निरीक्षक खिमबहादुर डाँगीले बताउनुभयो।
खुला सिमानाका कारण सीमापारीबाट विभिन्न प्रकारका लागु औषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ । प्रहरीले दैनिकजसो लागु औषध ओसार पसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपछि अवैध रुपमा भित्रिने क्रम भने रोकिएको छैन ।










